काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै नेकपा एमाले, रास्वपा, राप्रपा लगाएतका प्रतिपक्षी दलहरुका सांसदहरु नागरिकता विधेयक प्रमाणीकरणप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक कदम चालको भन्दै यसलाई निष्किृय पारेर संसदनबाट प्रक्रियागत ढंगले अघि बढाउन माग गर्दै नारावादी गरेका थिए ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयकलाई निष्क्रिय गरेर नयाँ संशोधन प्रस्ताव ल्याउनुपर्ने र त्यसलाई छिटो अघि बढाएर अप्ठ्यारोमा परेकालाई नागरिकता दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीकोे भारत भ्रमणका क्रममा वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार रहेको आशयको अभिव्यक्तिले नेपालीको शिर निहुराउने काम भएको समेत बताएका छन् ।
नागरिकताको बिषय र भारत भ्रमणका बिषयमा प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म संसद चल्न नसक्ने उनले बताएका छन् ।
त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाउने विधि जनताको समस्या समाधान भन्दा पनि अन्य कुनै स्वार्थका कारण आएको आरोप लगाएका छन् । उनले गैरसंवैधानिक कदमको भारी रास्वपाले बोल्न नसक्ने भन्दै यसको बिरुद्धमा सदन र सडक संघर्ष गर्ने बताएका छन् ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको र हुन पनि नसक्ने भएपनि अहिले राष्ट्रपतीय संस्था दलको निर्देशनमा चलेको बताएका छन् । उनले नागरिकता बिधेयकलाई छिटै प्रक्रियामा ल्याई अघि बढाउनुपर्ने धारणा राखेका छन् । रेशम चौधरीको आममाफीमा पनि राष्ट्रपति दलको निर्देशनमा चलेको उनले बताएका छन् ।
प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभापति देवराज घिमिरेले कार्यसूचीमा संसदलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए । तर प्रतिपक्षी दलले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले संसद बैठक स्थगति गर्नु परेको छ ।