काठमाडौं । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्चमा रिट दिएका थिए।
अधिवक्ताद्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् । रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो।
यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक फिर्ता गरिदिनुभएको थियो ।
त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो । अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विरोध सुरू भएको छ ।




















