काभ्रे । भेडा–बाख्रामा पीपीआर रोग देखिएको छ । पीपीआर रोगबाट बाख्रालाई बचाउन मकवानपुर, वैतडी, तनहुँलगायतका धेरै जिल्लामा खोप अभियान सञ्चालन गरिएको छ । तर काभ्रेमा भने यो रोगविरुद्धको खोप अभियान नचलाउँदा स्थानीय किसानहरु चिन्तित भएका छन् ।
काभ्रेमा पनि पीपीआर रोगको लक्षणहरु देखिन थालेपछि पलाञ्चोक भगवतीमा बली समेत रोकिएको छ । काभ्रे जिल्लाको पलान्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ ।
काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।
जिल्लाका साथै अन्य ठाउँबाट पनि पलाञ्चोक भगवतीमा दर्शन गर्न आउनेहरुले बली दिने गरेको बताउँदै त्यहाँका पुजारीले यो रोग फैलिनबाट रोक्नका लागि बली रोकिएको बताउनु भएको छ । साथै उहाँले पीपीआरविरुद्धको खोप अभियान चलाउन सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ ।
पीपीआरका कीटाणुहरू हावाबाट, दुषित पिएर, संक्रमित जनावरसँग प्रत्यक्ष सम्पर्कमा आएर, संक्रमित जनावरले हाच्छ्युँ गर्दा अन्य जनावरहरूमा सास फेर्दा, विभिन्न स्रोतबाट जनावरहरू ल्याइएका पशु बजारमा अन्य जनावरहरूको सम्पर्कमा आएर पनि यो रोग सर्ने पशुचिकित्सकहरुले बताएका छन् । यो रोग वयस्क बथानमा बढी हुने बताइएको छ ।
भाइरल र अत्यधिक संक्रामक पीपीआर रोग लागेका बाख्र, खसी, बोका, भेडाको पूर्ण हेरचाह र उपचारको अभावमा १०–१२ दिनमै मर्ने अर्थात् यो रोगबाट मृत्युदर ९० प्रतिशतसम्म रहेको पशु चिकित्सकहरुले बताएका छन् । जसले गर्दा बाख्रा पालन गर्ने किसानलाई मात्रै होइन, राष्ट्रको आर्थिक अवस्थामा प्रभाव पर्छ ।
खसी, बोका, बाख्रा, भेडामा पीपीआर रोग लागेमा पखाला लाग्ने, ¥याल सिँगान बगाउने, उच्च ज्वरो, शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने लगायतका लक्षण देखा पर्ने र अन्त्यमा मर्ने चिकित्सकहरुले बताएका छन् । यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।