काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल काँग्रेस–एमालेभित्र नै फरक धारणा आईरहेका बेला उनले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताएका हुन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए । उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमती जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले सो परियोजनामा सत्तारुढ काँग्रेस–एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने आवश्यकता समेत बताए ।
सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।