काठमाडौँ । नेपालले तेस्रो महिला टि-२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता समेत लिएको छ ।
जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्र बनायो । मलेसियाको लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा बनाइन् । ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाइन् ।
अन्य कुनै पनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मास एलिसा २ र हामिजाह हासिम डक आउट भए ।
नेपालकी इन्दु बर्माले ३ ओभरमा ७ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् ।
नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत ३ रनमा ओपनर कविता कुवँरलाई गुमाएको थियो । सिताराना मगरले ३५ बलमा २१ रन बनाउँदा ज्योती पान्डेले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् ।
तेस्रो विकेटका लागि सिताराना मगर र ईन्दु बर्माबीचमा ३२ रनको साझेदारी भएसँगै नेपाल बलियो योगफल तर्फ लम्किएको थियो । बर्माले ३० बलमा २० रन बनाईन् । इन्दु र कप्तान रुबिना क्षेत्रीका बीचमा तेस्रो विकेटका लागि २१ बलमा २९ रनको साझेदारी गरे । बिन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् ।
मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए ।
नेपाल पहिलो खेलमा मलेसियासंग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपालले चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।