काठमाडौं । आफिज ओलावालेको ह्याट्रिकले मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लबलाई १–३ गोलले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १७औं मिनेटमा गोल गर्दै ओलावालेले साविक विजेता मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पुनः गोल गर्दै ओलावालेले अग्रता दोब्बर पारे ।
सातदोबाटोमाथि हाबी देखिएको मछिन्द्रका लागि ५६औं मिनेटमा ओलावालेले ह्याट्रिक गरेका थिए ।
साविक विजेताविरुद्ध निरीह देखिएको सातदोबाटोका लागि जोर्डन पुन मगरले ८४औं मिनेटमा एक गोल फर्काए ।
जितसँगै मछिन्द्र २३ खेलबाट ३९ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले ४१ अंक जोडेको छ। लिगका तीन खेल बाँकी रहँदा चर्च ब्वाइजले दुई अंकको अग्रता बनाएको छ ।
पराजित सातदोबाटो समान खेलबाट २९ अंक जोडेर सातौं स्थानमा छ।
त्यसैगरी आजै च्यासल रंगशालामा भएको खेलमा संकटा क्लब र थ्री स्टार क्लबले गोलविहीन बराबरी खेलेका छन्।
बराबरीसँगै २३ खेलबाट २७ अंक जोडेको संकटा १२औं स्थानमा छ। समान खेलबाट समान अंक जोडेको थ्री स्टार ११ औं स्थानमा छ।
दुवै टिम रेलिगेसन क्षेत्रबाट तीन अंक मात्रै टाढा छन्। यद्यपि, १३औं स्थानको फ्रेन्ड्स र पुछारको खुमलटारले एक खेल कम खेलेका छन्। दुवै टिमको समान २४ अंक छ ।