काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।
बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताए ।
उनले राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आईतवार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताबिरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ ।
उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।