काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् । मन्त्रीले सात दिनभित्र कारबाही सुरु नगरे महानगरले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी मेयर साहले दिएका छन् ।
विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर साहले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख छन् ।
जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत महानगरभित्र सञ्चालनमा रहेका ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको मेयर साहले बताएका छन् ।
मेयर साहले सामाजिक सन्जालमा लेखेका छन्, ‘माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेका छौं । यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’
कुनकुन स्वास्थ्य संस्थालाई कारवाही गर्न लागिएको हो भन्ने विवरण भने मेयर साहले सार्वजनिक गरेका छैन् ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यका तीन वटै तहका सरकारले प्रत्याभूति गर्नुपर्ने भन्दै मेयर साहले सो अधिकारको कार्यान्वयन गर्ने दायित्व वहन नगरे महानगर अघि सार्ने चेतावनी दिएका छन् ।