काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणमा आज भारत जाँदैछन् । प्रधानमन्त्री दाहाल परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल सहित भारत जाने लागेका हुन । उद्योगी, व्यापारी र पत्रकारसमेत गरेर उनको भ्रमण टोलीमा झण्डै १०० जना हुने बताइएको ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल अघि बढाउने विषयमा कुरा भएको बताएकी छिन् । यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग छलफल हुने जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने बताएका छन् । उनले कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने प्रस्ट पार्नुभयो। हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने सम्भावना प्रबल रहेको मन्त्री साउदले प्रस्ट्याएका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार भ्रमणको सबै तयारी पूरा भएको छ । केही प्रक्रियागत विषयमा गृहकार्य जारी रहेपनि त्यो विषय जाने बेलासम्म सकिने उनले बताएकी छिन् ।
प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १:२५ बजे प्रस्थान गर्ने तालिका छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारत प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने छन् । यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन प्रधानमन्त्री दाहाललाई दबाब छ ।
सम्भावित विकास साझेदारीका सम्झौता र प्रस्तावित विषयमा कुरा गर्न सरकारी उच्चाधिकारीको टोली प्रधानमन्त्रीसँग रहने छ। त्यसबाहेक नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै भारत जाने तयारीमा रहेको छ। उद्योगी व्यवसायीसँगै एक दजर्नभन्दा बढी सम्पादकरपत्रकारको समूह पनि भारत जाने तयारी छ ।
भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। यीलगायतका विषयमा दिल्लीस्थित नेपाली दूतावासले अन्तिम तयारी गरिरहेको छ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोही अवसरमा दुई देशबीच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने छन् ।
त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् । त्यस्तै भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्ने कार्यतालिका छ ।
स्वदेश फर्कने दिन उनले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्ने छन् । जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भ्रमण हो । यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुहुँदा पहिलो औपचारिक भारत भ्रमण गरेका थिए । दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका थिए । औपचारिक भ्रमणको एक महिना नबित्दै सोही वर्ष भारतमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत गएका थिए ।