काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन।’
उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए । प्रधानमन्त्रीले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरू सरकारको नेतृत्वमा आएको स्पष्ट गरे।
प्रधानमन्त्रीले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताए। देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा लागेको उनको भनाइ छ।
प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । ‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु,’ उनले भने।
उनले विद्युत, सीमा, पारवहनलगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए। ‘देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चाहिँ गर्दै नगर्ने संकल्प गरेको छु। केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु,’ उनले भने ।




















