काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने दावी गरेका छन् । मंगलबार माओवादी मुख्यालय पेरिसडाडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरवार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बतादावी गरेका हुन ।
प्रधानमन्त्री दाहालले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्ने समेत बताएका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखेका छन् ।
राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङ मार्फत हुने भ्रष्टाचारबिरुद्ध दरोसंग उभिने संकल्प गरेको बताएका छन् ।
‘‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठुला–ठुला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘ठुलाठुला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठुलाठुला शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’’
प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केहि नयाँ गर्नेगरि भारत भ्रमणमा जान लागेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताइका छन् । उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरेका छन् ।