काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको वैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरूलाई प्रदान गरेको छ ।
कार्कीविरुद्ध लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने बताइएको छ ।
उजुरीकर्ताको परिचय उनीहरूले चाहेमा गोप्य राखिने तर नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिने बताइएको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सचिवालयबाट प्रस्ताव गरिएको संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ ।
सभापति जबराले सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना तथा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएका छन. ।
सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते सो को जानकारी संसद् सचिवालयलाई गराइएको थियो । कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रूपमा कार्यरत छन् ।



















