विराटनगर । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले कोसी प्रदेशसभानजिकै सुरु गरेको प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक रणमैदानमा परिणत भएको छ ।
सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले एक्कासी ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् । गम्भीर घाइते अवस्थाका सुरक्षाकर्मीलाई उपचारका लागि विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा भर्ना गरिएको छ ।
प्रदर्शनकारीले देवकोटा चोकमा रहेका पसलहरुबाट प्लाष्टिकका कुर्सी तथा बाँसलगायत लगेर आगो बाल्दै प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा हुन थालेपछि प्रहरीले सुरुमा पानीको फोहोरा हानेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
तर, आन्दोलनकारी आक्रामक र उत्तेजित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दर्जनौं सेल अश्रुग्यास प्रहार गरिए पनि आन्दोलनकारी पछि हटेका छैनन् । सुरक्षाकर्मीलाई लक्षित गरेर लगातार ढुंगामुडा गरिरहेका छन् । सुरक्षाकर्मीबाट पनि अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आन्दोलनको नेतृत्वकर्ताहरूले माइकिङ गरेर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको बताइरहँदा प्रदर्शनकारी भने सुरक्षाकर्मीमाथि खनिएका हुन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।