रावा वेशी खोटाङ । नेपालको सात वा प्रदेश मध्ये कोशी प्रदेशको पहाडी जल्ला खोटाङ्गमा १० वटा स्थानीय तह रहेका छन् । जसमा दिक्तेल रुपाकोट मजुवागढी र हलेसी तुवाचुङ गरी २ वटा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । हलेसी तुवाचुङ नगरपालिकामा पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध धार्मिक स्थल हलेसी महादेवको मन्दिर रहेको छ ।
अन्य पालिकाहरुमा पनि विभिन्न देवी देवता तथा प्राचिन मठमन्दिरहरु रहेका छन् । जिल्लाको ८ वटा गाउँपालिकामध्ये एक हो रावाबेशी गाउँपालिका । यस गाउँपालिकाको रबुवाघाटमा नेपालकै सवैभन्दा ठूलो हाइड्रोपावर (६३० मेगावाट)को दुधकोशी जलाशययुक्त आयोजना बन्ने क्रममा रहेको छ भने हवाइसेवा अन्तर्गत लामिडाँडामा एयरपोर्ट रहेको छ । यो एयरपोर्ट जिल्लाकै सवैभन्दा पुरानो एयरपोर्ट हो ।
यसै पालिका भएर बग्ने रावाखोलाको सदावहार चिसो पानीमा स्वादिष्ट माछा पाइन्छ भने रावाखोलाको पानी लाग्ने कटहरेवेशीमा तराईको फाँटमा हुने जत्तिकै ३ बाली खेती हुने गर्दछ । अन्य ठाउँका खेतवारीमा धान, मकै, कोदो, फापर आदि नगदेवाली हुन्छ भने लिचि, आँप, अम्वा, कटहर, सुन्तला, निवुवा, किवि, एभोकाडो जस्ता फलफूलहरु हुने गर्दछन् ।
पालिकाको वन जगलामा वाघ, चितुवा, स्याल, घोरल, खरायो, दुम्सी, लोखर्के, दुर्लभ जातिको सालक आदि जस्ता जंगली जनावर पाइन्छ । त्यस्तै काग, कालिज, ढुकुर, रुपी, भंगेरा, गौथली, वट्टाई, भ्याकुर, फिष्टे, रानीचरी, लामपुच्छे«, कोकले, हलेसो, न्याउली, हरेचरो जस्ता चराचुरुङ्गी र न्याउकिरी, जुनकिरीलगायत अनेकौ किटपतङ्गहरु छन् ।
त्यसैगरी यस पालिकामा ठूलो ओखती, चिराइतो, मजिटो, टिम्मुर, सिलटिमुर, पाचऔले जस्ता अनेकौ प्रकारका जडिवुटी पाइन्छ ।
यस प्रकारले रावावेशी गाउँपालिका जिवजस्तु, वनस्पति र प्राकृतिक दृष्टिकोणले सम्पन्न रहेको छ । यस गाउँपालिकाको आयको मुख्य सम्भावना वा अवसर नै कृषि उत्पादन, वन पैदावर, जरिबुटी, घरेलु उद्योग र व्यापार हो । कृषि र अन्य प्रकारका बजारको संभावना पनि रहेको छ । कृषि पेशामा संलग्न मानिसहरू प्रशस्त छन्, यहाँको माटो उर्वर छ । तापनि यस गाउँपालिकामा अन्न खेतीको साथै मौसमी र बेमौसमी अर्गानिक तरकारी खेतीको प्रबल संभावना रहेको छ । हाल, भइरहेको निर्वाहमुखी खेतीलाई व्यवसायमूलक बनाउने हो भने यहांँका मानिसहरूको जीवनस्तर उकास्न धेरै समय पर्खनुपर्दैन ।
हाल बजारमा बढ्दो विषादीयुक्त तरकारीले मानिसहरूको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको छ । मानिसहरू अलिकति बढी मूल्य तिरेर भए पनि अग्र्यानिक मलद्वारा उत्पादित वस्तुहरूको खोजीमा छन् । जसका लागि भरपर्दो अग्र्यानिक वस्तु उत्पादक कृषक समूह वा संस्थाहरू यसमा लाग्नु जरूरी देखिन्छ । त्यसैले बजारलाई लक्षित गरेर कृषि र अन्य उत्पादन गर्न सक्दा यस गाउँपालिकाको समृद्धिका लागि प्रशस्त संभावनाहरू रहेको पाउन सकिन्छ ।
यहाँको तापक्रम हिउँदमा निकै कम र वर्षायाममा तल्लो भेगमा अलिक बढी गर्मी हुने गर्दछ, तसर्थ यहाँको हावापानी समशीतोष्ण रहेको छ । वि.सं. २०७८ को जनगणना अनसार यस पालिकाको कुल जनसंख्या ११२१८ रहेको छ ।
रावाबेसी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित बिजुले भन्ने स्थान वरिपरिको दृश्यावलोकनका लागि महत्वपूर्ण मानिन्छ । त्यहाँबाट विश्वको अग्लो सगरमाथा लगायतका हिमश्रृङ्खला प्रष्टसँग देख्न सकिन्छ । त्यहाँबाट लामिडाँडा विमानस्थल, ओखलढुङ्गाको रुम्जाटार विमानस्थल, सोलुखुम्बुको काँगेल विमानस्थलका साथै सोलुखुम्बु, ओखलढु्ङ्गा र खोटाङ जिल्लाका अधिकांश भागको दृश्यावलोकन गर्न सकिन्छ । अझ यहाँ भ्यूटावर बनाउने र होमस्टेको व्यवस्था गर्ने हो भने यस क्षेत्रको पर्यटकीय महत्व अझ बढेर जाने देखिन्छ ।
रावाबेसी गाउँपालिका वडा नम्बर ४को धारापानी र देउरालीमा ऐतिहासिक गढीहरू रहेका छन् । यस क्षेत्रमा कुनै बेला राजाको शासन रहेको वा युद्ध भएको अवस्था संकेत मिल्दछ । यी गढीहरू कहिलेका हुन् र कुन शासन व्यवस्था भएको समयमा यहाँ युद्ध भएको थियो भन्ने कुरा अध्ययन गरी निक्योल गर्नसके यो ऐतिहासिक अध्ययनको थलो बन्न सक्ने संभावना रहेको छ ।
काल गाउँपालिकाको अध्यक्ष फटिककुमार श्रेष्ठ हुुनुहुन्छ भने केन्द्र हरमटार कुभिण्डेमा रहेको छ । गाउँपालिकाले विकास निर्माणदेखि जनसरोकारका विषयमा विभिन्न कार्य गर्दै आएको छ ।
हालै मात्र गाउँपालिकाले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरेको थियो । शिविरमा जनरल मेडिकल, स्त्री रोग, बालरोग, शल्यक्रिया तथा सर्जरी, मानसिक रोग, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौनरोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, इसीजी, भिडियो एक्सरे, ल्याव टेष्ट, न्यूरो सर्जरी, मृगौला रोग तथा मुटु रोगको परीक्षण जस्ता स्वास्थ्य सेवा पालिकाका ६ वटै वडाका वासिन्दाले लिएका थिए ।