विराटनगर । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरू पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । कोशी प्रदेशसभा रहेको स्थानलगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सोही निषधित क्षेत्र तोडेर उनीहरू प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको छ । आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि कोसी प्रदेशको राजधानी विराटनगर तनावग्रस्त बनेको छ । प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ ।
उनीहरू सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरिरहेका छन्। केही प्रहरी घाइते भएका छन्। घाइतेको संख्या एकिन भएको छैन । प्रदर्शनस्थल तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले प्रदेशसभा नजिकै प्रदर्शन भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिने प्रयास जारी छ। प्रहरीले कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधरका ३७ जनालाई पक्राउ गरेको छ। निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । अधिवेशनका लागि सांसद (प्रदेशसभा सदस्य)लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए ।