काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहाका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
गणतन्त्र दिवसका अवसरमा भोली उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताइएको छ ।
चौधरीसँग अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको मन्त्री शर्माले बताएकी छिन् ।
चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।
यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । चौधरीले गृहमन्त्रालय मार्फत पठाएको प्रस्ताव राष्ट्रपतिले प्रक्रिया पूरा गरेर ल्याउन भन्दै मन्त्रालयमा फर्काएका थिए ।
थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौ ७ गते ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । अदालतले तोकेको जन्मकैदको सजाय अनुसार उनले २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।