विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्याउने खोज्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरका विभिन्न स्थानबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष, उपमहासचिव सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताएका छन् ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आज प्रदेशसभा घेराउ गर्ने उद्देश्यले आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको बताइएको छ ।
उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताएका छन् ।
कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । शनिवारबाटै विराटनगरमा प्रदर्शन गरेपछि प्रहरीले सुरक्षा अवस्था मजबुत पारिएको प्रहरीले जनाएको छ ।
विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट विभिन्न नेता, पहिचानवादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएको बताइएको छ ।
शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सुरक्षा चेकजाँच तीव्र बनाएको छ ।