काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेलेका छन् ।
च्यासल रंगशालामा भएको खेलको १७औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्रले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। फलस्वरुप ६०औं मिनेटमा मछिन्द्रले बराबरी गोल फर्काएको थियो ।
पुजन उपरकोटीले प्रहार गरेको कर्नरमा आर्मीका युद्ध शाहीले गरेको आत्मघाती गोलमा मछिन्द्र हारबाट जोगियो।
बराबरीसँगै २२ खेलबाट ३६ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ । समान खेलबाट ३० अंक जोडेको आर्मी चौथो स्थानमा उक्लिएको छ ।
बराबरीपछि मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले तीन अंकको लक्ष्यसहित मैदानमा उत्रिए पनि सफल नभएको बताए ।
योजनास्वरुप तीन अंक लिन नसके पनि आर्मीसँग एक अंक खोसेको मछिन्द्र उपाधि होडमा धेरै पछि नपरेको उनको जिकिर थियो ।
आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा रणनीति अनुसार खेलेर पनि दोस्रो हाफमा त्यसलाई निरन्तरता दिन नसक्दा अंक बाँड्नु परेको प्रतिक्रिया दिए ।
दोस्रो हाफमा आफ्नै गल्तीले मछिन्द्रका प्रेसर खप्नु परेको न्यौपानेले बताए । आर्मीको पछिल्लो समय एकनासको खेल नहुँदा आर्मी तालिकामा पनि माथि चढ्ने-तल झर्ने भइरहेको प्रशिक्षक न्यौपानेले बताए ।
यसैगरी आजै दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लब विभागीय टिम एपीएफ क्लबसँग ०-२ गोलको नतिजामा पराजित भएको छ ।
अर्मान्ड बिडौमले २३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा जावलाखेलमाथि हाबी बनेको एपीएफका लागि आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
मध्यान्तरअघि लिएको अग्रता जोगाउँदै एपीएफले जित सुनिश्चित गर्यो। जितसँगै एपीएफ २२ खेलबाट २९ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ३४ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ ।