काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । २० मिटेका लागि स्थगित भएको वैठक सुचारु हुन सकेको छैन । आजको बैठकको सुरुमै एमाले सांसदहरुले सत्तापक्षका सांसदहरुले सदनमा नियोजित रुपमा प्रतिपक्षी दल एमालेमाथि भ्रष्टचारको आरोप लगाएको भन्दै नारावाजी सहित वेल घेराउ गरेपछि बैठक अवरुद्ध भएको हो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदले रोष्ट्रममा उभिएर पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै आपत्ति जनाए । पशुपतिको गजुरमा सुनको ठाउँमा पित्तल लगाएको छ भने छानबिन हुनुपर्ने र सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले एमालेलाई गैरजिम्मेवारीपूर्वक आरोप लगाउने सांसदले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनु पर्ने माग गरेका छन् ।
त्यस्तै एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफुहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैरजिम्मेवार रहेकाले विरोध गर्नुपरेको स्पष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतामाथि सदनमा गम्भीर प्रश्न उठेपछि यो आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने नेम्वाङले बताएका छन् । यसलाई राफसाफ नगरेसम्म सदन चल्न नसक्ने नेम्वाङको भनाइ छ ।
एमाले विरोधकाबीच सभामुख देवराज घिमिरेले माओवादी सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । सो क्रममा सभामुख घिमिरेले संसदीय प्रक्रियालाई अघि बढाउन आग्रह गरेपनि एमाले सांसदहरुले लगातार विरोध गरेपछि संसद बैठक स्थगीत गरिएको हो ।
सरकारको नेतृत्व गरिरहेको माओवादी सांसद लेखनाथ दाहालले वैशाख १० गते संसदमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुन भनेर पित्तल जलारी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।