काठमाडौँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसुचि रहेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औँ बैठक ११:०० बजे बस्दै छ । यो वैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको हो ।
‘प्रधानमन्त्री दाहालले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आव २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आआफ्नो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।