काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटकपटक मुद्दा परेपछि उनी आक्रोशित बनेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै उनले घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने चेतावनी दिएका छन् ।
सभापति लामिछानेले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिका त्यागेको निश्चित गरेको पनि बताएका छन् । आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनः नागरिकता पनि कायम गराइसकेको, अमेरिकी राहदानीको सक्कल निस्सा सर्वोच्च अदालतमा बुझाइ पनि सकेको भए पनि आफूलाई ‘इरिटेट’ गरिएको भन्दै उनले असन्तुष्टिसँगै आक्रोश पोखेका छन् ।
बुधबार सिन्धुलीका युवराज पौडेलले रवि सांसद हुन अयोग्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो । यो आदेशसँगै आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकिएको छ ।