काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । जसमा २४ वर्ष कैद सजाय माग गरिएको छ । उनीहरूविरुद्ध २८ करोड ८४ लाख ७४ हजार पाँच सय बिगो माग गरिएको छ।
प्रहरीले शरणार्थी प्रकरण प्रतिवेदनमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। प्रहरीले गत चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो।
शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा पक्राउ परेका छन्।
त्यस्तै सोही प्रकरणमा खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । यो मुद्दामा प्रतीक थापा, नीरज राईसहित १७ जना फरार छन् ।




















