काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो ।
जसपा नेतृत्वको सरकारले चोरबाटोबाट सरकार विस्तार गरेको भन्दै बाहिरिने निर्णय लिएको माओवादी मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद यादवले बताएका छन् ।
मुख्यमन्त्री यादवले मंगलबार मात्रै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । सरकार विस्तारका क्रममा माओवादी केन्द्रले दावी गरेका दुईवटा मन्त्रालयमा नपाएपछि असन्तुष्ट बनेको हो ।
मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारका क्रममा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रायको जिम्मेवारी दिएका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपानेलाई विनाविभागीयमन्त्रीको जिम्मेवारी दिइएको छ।
























