काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले नीति तथा कार्यक्रममा रहेको बिषयबस्तु बजेटमा समेत समावेश हुने भएकाले यसलाई गाभ्न सुझाव दिएका छन् ।
बजेटमा छुट्टाइएका रकमहरु नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उनले बताए ।
उनले भनेका छन् ‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला । १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो ।’
नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनिय र आशा जगाउने खालको बजेट ल्याउन उनले सरकारलाई सुझाव दिएका छन् । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराव गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने धारणा राखेका छन् ।
त्यस्तै उनले सरकारले लिने लक्ष्य पूरा गर्नका लागि कार्ययोजना बनाएर नै कार्यक्रमलाई अघि बढाउन सुझाव पनि दिएका छन् ।



















