काठमााडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको भन्दै मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष नेपालले सरकारको कार्यक्रमका कागजको खोस्टो नभएर बिभिन्न उदेश्य भएको दस्तावेज भएकाले सवै मिलेर मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताएका छन् ।
सरकारको कार्यक्रममार्फत देशका सामु देखिएका समस्या पहल्याएको र समाधानको बाटो अघि सारेको उनले बताएका छन् । उनले अर्थतन्त्रको पुनर्उत्थान गर्ने, सुशासनको बिषय, बिकास निर्माण कार्यक्रममा तीव्रता, राष्ट्रिय हितको सम्वद्र्धन गर्ने लक्ष्य लगाएतका उदेश्य सकारात्मक रहेको जिकिर गरेका छन् ।
अध्यक्ष नेपालले कुनै पनि दस्तावेजहरु पूर्ण नहुने भन्दै सवैको सुझावलाई मध्यनजर गरि पूर्ण बनाउन सुझाव दिएका छन् । उनले यसअघि बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो भनेर समिक्षा गर्नुपर्ने भन्दै एकअर्का प्रति घोचपेच गरेर केहि नहुने बताए । व्यक्तिवादी रोग र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृतिबाट मुक्त भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारको जाँलोलाई तोड्नका लागि इमान्दार र लगनशिल भएर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
उनले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा चूनौति देखिएको भन्दै यसमा राजनीति दलहरु र जनताले विश्वास गरेका प्रतिनिधिहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।