काठमाडौँ । हिरासत पुगेको १२ दिनपछि सोमबार विहान पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु खाँण प्रहरी कार्यालय पुगेकी छन् । पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् । सांसद समेत रहेकी कांग्रेस नेतृ मञ्जुले काठमाडौं परिसर पुगेर पति खाँणलाई भेटेकी हुन ।
खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्मा उपस्थित भएकी थिइन् । यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु नगएपछि उनी विदेश भागेको चर्चा पनि चलेको थियो । यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो । तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा हालसम्म ल्याएको छैन।
खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए । खाँण पक्राउ पर्दा पनि मञ्जु उनीसँग घरमा थिइनन् ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ । उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेका १६ जना र फरार सुचिमा रहेका १६ जनालाई कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ ।
अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गरेपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ । त्यसपछि थुनछेक बहस हुनेछ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्ने छ।