काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले आज सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।
पक्राउ परेका १६ जना र फरार सुचिमा रहेका १६ जनालाई कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको प्रहरीले जनाएको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्दै छ ।
केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिने प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत फरार छन् ।