काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आवश्यक सहयोग गर्न एमाले तयार रहेको बताउँदै दोषीहरुलाई कठघरामा उभ्याउनु पर्ने बताएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेको छलफलमा आइतबार भाग लिदै ओलीले गठबन्धन सरकार नक्कली भुटानी शरणार्थीका नाममा निर्दोषलाई फसाउने योजना बनाएको आरोप लगाएका छन् । उनले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै काम नगरेको दावी गर्दै ओलीले गहिराइमा पुगेर फेरि छानबिन गर्न चुनौती दिएका छन् । ओलीले भनेका छन् ‘शरणार्थीबारेको प्रतिवेदन क्याबिनेटमा आएपछि मैले अध्ययन गर्न भनेर होल्ड गरेँ, त्यसपछि सामाजिक समितिमा पठाइएको थियो । त्यसबेला मलाई नै ठेगान लगाउन खोजेका थिए। भित्ता पुर्याउन खोजेका थिए। सडकमै पछार्छौँ भन्दै उफ्रिएका थिए, त्यसबेला मैले कसरी फाइल हेर्न पाउनु, अघि बढाउनु, त्यहीकारण मैले उक्त फाइल होल्डमा राखिदिएको थिएँ। मभन्दा पछाडिको सरकारले त्यसबारे के गर्यो जवाफ दिनुपर्छ।’
त्यसबेला पुनर्वासमा गएका ४२९ जना शरणार्थी सक्कली नै रहेको बताउँदै ओलीले आफू सरकारमा रहेका बेला गृह मन्त्रालयले तयार गरेको प्रतिवेदनमा अर्को सरकारले परिवर्तन गरेको नक्कली भुटानी शरणार्थीको नाम राखेको पाइएको बताएका छन् ।
ओलीले भनेका छन् ‘त्यसबेला ४२९ जना ओरिजिनल थिए तर त्यसपछि कागज फेरियो। माथिको कागज (कभर) उही राखेर व्यक्तिको सूची परिवर्तन गरियो, यो प्रकरणमा कसैलाई रहर लागेको छ एमालेको नाम लिन। केपी ओलीलाई गाली गर्न रहर लागेको भनेर मात्रै हुँदैन। म गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानमन्त्री भएँ यदि कमजोरी देखिएको छ भने छानबिन होस्।’
ओलीले आफूहरु सधैँ भ्रष्टाचारीलाई कारबाहीको पक्षमा रहेको वताउँदै भनेका छन् “हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ, यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन।”
ओलीले जोसुकैले गरे पनि भ्रष्टाचार छानबिन हुनुपर्ने बताउँदै सयौँ वर्षपछि पनि कारबाही हुनुपर्ने बताएका छन् । व्यक्तिको मृत्यु भए पनि काण्ड इतिहासमा रहने बताउँदै ओलीले भने ‘एकछिन भ्रष्टाचार ढाकछोप गरिएला, तर भ्रष्टाचारले गुडबाई भन्दैन सी यु लेटर भन्छ।’
तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा आपत्ति जनाउँदै ओलीले भने, ‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।”