काठमाडौं । विलियम ओपोकुको दुई गोलप्रेरित सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार थ्री स्टार क्लबलाई २-० गोलको नतिजामा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २४औं मिनेटमा गोल गर्दै ओपोकुले सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको थ्री स्टारले दोस्रो हाफको सुरुआतमै पुनः गोल खायो।
ओपोकुले नै ४७औं मिनेटमा फ्रि-किकमार्फत सोझै गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे ।
जितसँगै १९ खेलबाट २९ अंक जोडेको सातदोबाटो लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अंक जोडेको थ्री स्टार पाँचौं स्थानमा झरेको छ । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको १९ चरण सकिँदा ३६ अंक छ ।
दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३२ र तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ। रेलिगेसन जोनमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारको क्रमशः २१ र १८ अंक छ ।