विराटनगर । एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जसपालाई नेपाली कांग्रेसले दवाव दिँदै आएको छ । प्रधानमन्त्रीलाई भेटेर कांग्रेसका महामन्त्रीहरुले कोशी प्रदेशमा सरकार परिवर्तनका लागि दवाव दिइरहेका छन् भने बिहीवार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने बताएका छन् ।
त्यस्तै कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्न आग्रह गरेको कांग्रेस संसदीय दलको बैठकले आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि गरेको छ ।
बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । प्रदेशसभा सचिवालयले सांसदका लागि एकसय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
























