काठमाडौँ । यती समूहका अध्यक्ष सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो टेकेका हुन् । यससँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गरेका छन् ।
२०५० सालमा पत्नी पासाङसहित सगरमाथा आरोहणमा निस्केको भए पनि सोनाम त्यो बेला बेसक्याम्प–२ पुगेर फर्किएका थिए । तर, उनकी छोरी फुटी शेर्पाका अनुसार आमा पासाङ भन्दा अगाडी नै सोनामले धौवलागिरी र थामसेर्फु हिमाल चढिसकेका थिए ।
मुख्यतयाः भूकम्प पछि ६३ वर्षीय सोनाम सबै महादेशको सर्वोच्च शिखर चुम्ने उद्देश्यसहित अघि बढेका थिए । आफ्नो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरु हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा उनीहरुले सगरमाथाको सफल आरोहण सम्पन्न गरेका हुन् ।
६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पूर्वक आरोहण सम्पन्न गरेका छन् ।
उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मि), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मि), नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज (४,८८४ मि), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मि), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मि) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मि) हिमालको आरोहण गरेका थिए ।