काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति रहेको बताएका छन् ।
बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति रहेको बताएका हुन ।
उनले नीतिभन्दा नेता प्रधान, सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरेका छन् ।
उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्ने मिलेर तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सहि बाटोमा लिएर जाने अभियान स्मरण गरेका छन् । उनले मदन–आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रोसंग छानविन हुन नसकेको धारणा राखेका छन् ।
कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशीशक्तिको हस्तक्षेपलाई रोक्नुपर्ने बताएका छन् । नेपाल असंलग्न मुलुक भएको भन्दै कुनै पनि शक्ति केन्द्रले नेपालसंग खेल्न खोजे स्वीकार्य नहुने उनले बताएका छन् ।
खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन–आश्रितका योगदानलाई स्मरण गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।