काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ ।
सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेका छन् ।
सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास हुनु सराहनीय भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएको बताइएको छ ।
त्यस्तै सभामुख घिमिरेले पनि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।
सभामुख घिमिरेले सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताएका छन् । उनले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरूको गुनासोलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।