काठमाडौं । अब घरबाटै वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिन सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको हो ।
सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरिएको जानकारी दिइएको छ ।
शाखाले आज जेठ १ गतेदेखि लागू हुनेगरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु उपलव्धीमुलक भएको बताएका छन् ।
विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताउँदै राईले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेको र चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको जानकारी दिएका छन् ।
‘यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको शुरुवात भइसकेपछि विस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ । यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यक्ता छ । शिक्षा मन्त्रालयको रेकर्डमा ल्याउनुपर्ने आवश्यक्ता थियो, निर्देशिका जारी भएर त्यो परिस्थिति आएको पनि छ, कति विद्यार्थी गए भन्ने अध्यतन अभिलेख रहनेछ, गएका विद्यार्थीहरु कुन विश्वविद्यालयमा छन्, के छन भन्ने अवस्थालाई ट्रयाक गरेर काम गर्ने विश्वास लिएको छु ’, मन्त्री राईले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले अब अन्य निकायहरुले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरु गर्नुपर्ने बताएका छन् ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।



















