बुटवल । बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आमरण अनशन थालेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका हुन् ।
बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा उद्घाटन नगर्दै भत्किएको थियो । पुल पप्पु कन्स्ट्रक्सनले बनाएको भत्किएको पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमको गुनासो छ।
जब्दीघाटको भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने गौतमको पहिलो माग छ। सांसद गौतमले गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राखेका छन् ।
संसदमा जति माग राखे पनि पूरा नभएपछि अनशन बस्न बाध्य हुनुपरेको गौतमले बताएका छन् ।