काठमाडौँ । पाकिस्तानमा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का नेता शाह मोहमद कुरेशी पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान इस्लामावाद प्रहरीले पक्राउ गरेको पीटीआईले दाबी गरेको छ । पक्राउपछि उहाँलाई अज्ञात स्थलमा लगिएको छ । पार्टीले ट्वीटरमा साझा गरेको भिडियोमा सादा लुगा लगाएका मानिसहरूले कुरेशीलाई हिरासतमा राखिएको स्थानबाट प्रस्थान गर्नुअघि पार्टी कार्यकर्तालाई हात हल्लाइरहेको देखाइएको छ ।
पक्राउ पर्नुअघि उनले रेकर्ड गरेको भिडिओमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइपुगेको छ । म एउटा सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ । आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ ।‘ उनले समर्थकलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन् ।
पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएको विरोध देशभर फैलिएको छ । हिंसात्मक प्रदर्शनमा बिहीबारसम्म आठजनाको मृत्यु भइसकेको छ । एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् । प्रधानमन्त्री शहबाज शरीफले विरोध प्रदर्शनलाई आतंककारी गतिविधिको संज्ञा दिँदै भत्र्सना गरेका छन् ।
देशवासीका नाममा सम्बोधन गर्दै शरीफले सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयहरूमा थप आक्रमण गरिए कठोर कारबाही गरिने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री खान र उनको दल पीटीआईका कार्यकर्ताले संवेदनशील सैन्य अखडामा आक्रमण गरेको शरीफको आरोप छ । खानका समर्थकले लाहौरस्थित प्रधानमन्त्री शरीफको निजी निवासका साथै एक उच्च सैन्य जनरलको निवासमासमेत आक्रमण तथा आगजनी गरेका छन् । पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार र बुधबार देशका विभिन्न शहरमा गरिएको विरोध प्रदर्शनका क्रममा पञ्जाब प्रान्तमा मात्रै १४ वटा सरकारी भवन तथा प्रहरीका २१ वटा भ्यानमा आगजनी भएको छ । राजधानी इस्लामावादका साथै पञ्जाव र खैबर पख्तुनख्वा प्रान्तमा सेना परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री खानलाई अल कादिर ट्रष्टसम्बन्धी जमिन भ्रष्टाचार मामिलामा मंगलबार त्यहाँको भ्रष्टाचारविरोधी निकाय एनएबीले आफ्नो नियन्त्रणमा लिएको थियो । बुधबार अदालतले खानलाई आठ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।
इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आएका थिए । पनामा पेपर्सले नवाज शरीफ र उहाँका परिवारका सदस्यहरूले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा हाल्नु भएको थियो । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रूपमा नवाज शरीफलाई दोषी ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो । (एजेन्सी)

























