गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।
निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो ।
आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।
रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।