काठमाडौँ । बिहीबारबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । शनिबारसम्म जारी रहने वैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका छन् ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार बिहीबार पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका चार वटा प्रतिवेदन आज प्रस्तुत हुँदैछन् ।
विष्टका अनुसार आज गण्डकी प्रदेशबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्दैछन् । प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्ने बताइएको छ ।
त्यस्तै बिहीबार सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गरेका छन् । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोसी प्रदेशबाट राजेन्द्र गौतमले आ–आफ्नो प्रदेशको रिर्पोट प्रस्तुत गरेका हुन ।