काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुने वैठक तीन दिनसम्म चल्ने छ ।
यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले ललितपुरमा बस्ने निर्णय भएको थियो ।
वैशाख २६ मा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।
उक्त सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुने, मिसन ग्रासरुट अभियानको समीक्षा, मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्य योजना बनाउने, पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्ने लगायतका एजेन्डाहरू तय गरेको थियो ।
एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।