यतिखेर नेपाली राजनीति नक्कली भुटानी शरणार्थी प्रकरणले निक्कै तातेको छ । नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको विषयले नेपाली राजनीति गरमागरम बनेको छ ।
८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गरेको आरोपमा राजनीतिक दलका नेताहरु गरमागमर रुपमा एकअर्काबीच प्रतिस्पर्धा गरिरहेका छन् । यसले गर्दा देशको मूल एजेण्डालाई तिलाञ्जली दिइएको छ ।
देश अहिले आर्थिक मन्दीको भुमरीमा फसेको छ । यस दलदलबाट जोगाउन लाग्नुपर्ने मूल कार्यभार सबै राजनीतिक दलको हो । तर राजनीतिक दलहरु एउटा मामुली विषयमा आरोप-प्रत्यारोपको शृंखला नै खडा गरी वाक्युद्धमा उत्रिएका छन् । यसले स्थापित पार्टीलाई असर नै गर्नेछ । नेपाली विद्यमान धमिलो राजनीतिमा माछा मार्नेहरुको मनोबल बढी लोकतन्त्र खतरामा पर्ने देखिन्छ । त्यसैले यस विषयलाई धेरै उछाल्नु देश र जनताका लागि हितकर हुनेछैन । अहिले भुटानी शरणार्थीको विषयलाई लिएर पहाड नै खडा गर्न अदृश्य शक्ति हातै धोएर लागेकाले स्थापित राजनीतिक दलहरु कांग्रेस र एमाले सजग र सतर्क हुन आवश्यक छ ।
नेपाली राजनीतिका स्थापित पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका शीर्षस्थ नेताहरु नै यस काण्डमा पछिल्लो समय खुलेर एकअर्काविरुद्ध खरो रुपमा उत्रिएको देखिन्छ ।
नक्कली भुटानी शरणार्थी काण्डमा गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, कुमार गुरुङ, सन्देश शर्मा र सागर राई पक्राउ परेका छन् । यस काण्डमा एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ पूर्जीको सूचीमा रहेका छन् । यद्यपि उनी फरार रहेका छन् । रायमाझी निर्दोष भए आत्मसमर्पण गरी आरोपको फेस गर्नुपर्छ । भागेर समाधान हुँदैन ।
यस प्रकरणमा केही बिचौलियाहरुले कमिसन लिएर लाभ लिए होलान् तर सिंगो पार्टी र निर्दोष शीर्षस्थ नेतादेखि उनीहरुका श्रीमतीहरुसम्मलाई कपोलकल्पित लाञ्छना लगाएर मुछ्ने काम सरासर गलत हो । जो अहिले निरन्तर जारी नै छ । यो विषयलाई उठाएर तीललाई पहाड बनाउन माओवादी लागिपरेको छ । ता कि क्यान्टोनमेन्टको अर्बौँको भ्रष्टाचार सामसुम होस् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाका साथै पूर्वगृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँणसम्मलाई यसमा संलग्न भएको आरोप लगाउँदै नानावलीका टिकाटिप्पणी हुनु सरासर अन्याय र बेइमानी हो । यद्यपि यसको खण्डन आरजु देउवा राणा र मञ्जु खाँणले गरिसकेका छन् ।
संसदमा बोल्दै नेपाली कांग्रेसकी सांसद आरजु राणाले शरणार्थी प्रकरणमा जोडिएकोमा खेद नै प्रकट गरेकी छिन् । उनले आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको बताएकी छन् । उनले आफूले केही नबिराएको दाबी गरिन् । उनले नबिराउनु नडराउनु भन्दै आफू यसमा संलग्न नभएको स्पष्ट पारिन् । संसद बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् । साथै कसको कति सम्पत्ति बढ्यो ? कति घट्यो ? छानबिन गर्न माग गरिन् ।
यसैगरी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफू र आफ्नो परिवार यसमा संलग्न नभएको र तथ्यहिन कुराहरू सञ्चारमाध्यममा आएको दाबी गरे ।
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ यसमा कसैको दुईमत छैन । तर निर्दोषलाई यसमा तान्ने काम कदापि उचित हुँदैन । यो विषयलाई उचालेर अन्य भ्रष्टाचारका काण्डहरुलाई ओझेलमा पार्ने दुष्प्रयास हुँदैछ । माओवादी क्यान्टोनमेन्टको अरबौँ भ्रष्टाचार काण्ड, वाइडबडी विमान खरिदमा अरबौँको कमिसन, ललिता निवास जग्गा प्रकरण तथा सुन तस्करी जस्ता बृहत् काण्डलाई निस्तेज पार्न यस विषयलाई उचालिनु कदापि राम्रो होइन । शरणार्थी प्रकरणले गर्दा ठूला भ्रष्टाचारमा संलग्नहरुले खिसिटेउरी गरिरहेका छन् । उनीहरु रमाएर ताली बजाइरहेका छन् ।
त्यसैले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्थापित दल एकजुट भएर समाधानको बाटो रोज्नु नै श्रेयष्कर हुनेछ । अन्यथा ठूला-ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेल पर्नेछन् भने देश विकासको मूल एजेण्डा छायामा पर्नेछ । अतः सबै नेताहरुमा चेतना भया ।