काठमाडौं । बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि आजदेखि संसदमा छलफल सुरु हुने भएको छ ।
प्रतिनिधि सभा बैठकमा आजदेखि २७ गतेसम्म छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुले उठाएका सवालहरुलाई टिपोट गर्नका लागि अर्थमन्त्रालय र संसद सचिवालयका कर्मचारी खटाइएको बताइएको छ ।
प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २४ गते) नै अर्थमन्त्री डा. महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेका कारण वैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको बताइएको छ ।
प्रि(बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।