काठमाडौँ । सरकारले एसिसी मेन्स प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेट खेल्नको लागि छनोट भएको थियो ।
खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी मेन्स प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।
साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
मंगलबार नेपालले एसीसी मेन्स प्रिमियर कप जित्न सफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्दै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।