दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैछन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिन लागेका हुन ।
प्रदेश सभा बैठक दिउँसो ११ बजे बस्दै छ । प्रदेश सरकारले सोमवार विश्वासको मत लिने निर्णय गरेपनि मजदुर दिवस परेपछि एक दिनपछि विश्वासतको मत लिने कार्यक्रम सारिएको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने योजना बनाएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
हाल नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् । विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने र हालका मन्त्रीहरुको जिम्मेवारी समेत तोकिने बताइएको छ ।
सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।