काठमाडौं । वर्षाको कारण रोकिएको एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल पुन: सुचारु भएको छ । टस हारेर ब्याटिङ गरिरहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएपछि खेल रोकिएको थियो ।
नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन् ।
यूएईका कप्तान मोहम्मद वासिम, आर्यान लाक्रा, वृत्या अरविन्द, रामिज सहजाद र रोहन मुस्तफा १५ भन्दा कम रनमा आउट भएका छन्।
नेपाली टिममा आज एक परिवर्तन भएको छ । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।
समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।