काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताउनुभएको छ ।
औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्यागिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ ।
अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
‘नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो ’ शुभकामना सन्देशमा भनिएको छ ।
अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको उल्लेख छ । ‘२००३ सालमा भएको मजदुर आन्दोलन मार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्भmौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको विरासत एमालेसँग छ ’ अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशमा एमालेको सरकारले मजदुरको पारिश्रमिकमा ३९ प्रतिशत वृद्धि गरेर औद्योगिक क्षेत्रलाई हड्ताल र तालाबन्दीमुक्त क्षेत्र बनाएको स्मरण गरिएको छ । मजदुरको पारिश्रमिक बैंक मार्फत भुक्तानी हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरिएको स्पष्ट पारिएको छ ।
एमालेलाई सरकारबाट हटाएपछि श्रमिकहरुको सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक र मर्यादित काममा अवरोध पुगेको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । ‘नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर मात्र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्छौं ’अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ।