काठमाडौं । वैशाख ७ गते भएको कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न झापा धुलाबारीका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ ।
झापामा पक्राउ परेका उनलाई आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गर्दै घटनाको प्रारम्भिक जानकारी दिएको छ ।
झापाबाट एक साता अघि काठमाडौं आएका उनी पाण्डेको हप्ता पछि पनि एक हप्ता लोकन्थलीमा साथीको घरमा बसेका पाइएको प्रहरीले जनाएको छ ।
सीआइबीका एसएसपी दिनेश आचार्यका अनुसार घटनाको दिन लोकन्थलीबाट चावहिलस्थित केएल टावर हुँदै निरु पाण्डेको पसलमा पुगेका थिए ।
प्रहरीका अनुसार पसलमा भाँडाको मोलमोलाइ गरेर पैसा निकाल्ने बहानामा पसलबाट निस्किएका उनी १०/१५ मिनेटपछि अर्थात दिउँसो २:४४ मा फेरि फर्केर आक्रमण गरेका थिए । विश्वकर्माले निरुकै पसलमा रहेको चक्कुले प्रहार गरेका थिए ।
आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको सिक्रीका साथै पसलको ड्रयरबाट ११/१२ सय रुपैयाँ लुटेका छन् । हत्या र लुटपाटपछि उनी त्यहाँबाट निस्किएर टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।
विश्वकर्माले अपराध स्वीकार गरिसकेका छन् भने हत्याको समयमा लगाएका रगत लागेको कालो टिसर्ट, व्याग, जुत्ता साथीको कोठाबाट बरामद भएको प्रहरीले जनाएको छ ।
आचार्यका अनुसार लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा वैशाख १३ गते ५५ हजारमा बेचेर वैशाख १४ गते झपा घर गएका रहेछन् । सिक्री बरामद भइसकेको छ ।
करिब एक तोलाको उक्त सिक्रीको मूल्य करिब ९९ हजार पर्ने आचार्यले बताएका छन् ।
उनी घटनापछि काठमाडौंका विभिन्न ठाउँमा घुमेको पाइएको प्रहरीले जनाएको छ ।



















