काठमाडौँ । निरा पाण्डेको हत्या लुटपाटका क्रममा भएको प्रारम्भिक अनुसन्धनबाट पाइएको प्रहरीले जनाएको छ । सिक्री लुट्दा प्रतिकार गरेपछि हत्या गरेको पक्राउ परेका व्यक्तिले बताएको प्रहरीले जनाएको छ ।
पाण्डे हत्याबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार झापाबाट शनिबार पक्राउ परेका विनोद विश्वकर्मालाई आइतबार काठमाडौं ल्याएर घटना सार्वजनिक गरिने भएको छ ।
दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा समिति बनेको थियो । इन्ड्राइभमार्फत दिउँसो २ बजेर ४६ मिनेटमा घटनास्थल पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए । तर उनले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन ।
प्रहरीका अनुसार पसलमा पुगेपछि सामान किन्ने बहाना बनाएर सिक्री लुट्न खोज्दा निरुले प्रतिकार गरेपछि चक्कु प्रहार गरेको खुलेको छ ।
निरुको हत्यापछि लुटेको सिक्री काठमाडौंमै बेचेर विश्वकर्मा झापा पुगेको खुलेको छ। प्रहरीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको हो ।
विनोदले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै सिक्री बिक्री गरेको पसलबारे पनि बताइसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंको एक नाइट क्लबका बाउन्सरका रुपमा कार्य गर्दै आएको उनले पछिल्लो समय जागिर छाडेको बताएको प्रहरीले जनाएको छ ।
























