काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रनको बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१/३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।
सुरुवाति ब्याट्समेन सस्तैमा आउट भएपछि नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका थिए । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ९४ रन बनाए ।
उनले उत्कृष्ट ब्याटिङ गरे । पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । कुशल मल्लले ४४ बल खेल्दै अर्ध शतक बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गर्र्दै ५७ रनको योगदान गरे ।