काठमाडौं । निर्वाचन आयोगबाट मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आज स्पष्टीकरण सोधेको छ ।
आयोगले बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी मुख्यमन्त्री यादवलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा गएका हुन भनी स्पष्टीकरण सोधेको छ ।
उनलाई ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ?’ भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
























