काठमाडौँ । सत्ता गठवन्धनका शीर्ष नेताहरु आज चितवन जाने भएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा हुने गठबन्धनको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चितवन जान लागेको बताइएको छ ।
गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई भोट माग्न आयोजियत सभामा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुने बताइएको छ ।
चितवन २ बाट गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकता अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
चितवन २ राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः रवि उम्मेदवार बनेका छन् भने नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
चितवन २ मा विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी चर्चा नेकपा एमाले, रास्वपा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ।
हिजो तनहुँ पुगेर गोविन्द भट्टराईको पक्षमा सत्ता गठवन्धनका नेताहरुले भोट मागेका थिए । उनीहरुले भट्टराईलाई जिताएर पठाउन आग्रह गर्दै मन्त्री बनाइदिने आश्वासन पनि बाँडेका थिए । आज चितवनमा पनि उनीहरुले श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाइदिने आश्वासन बाड्न सक्ने आँकलन गरिएको छ ।